Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Tuesday, January 25, 2011

नेपाली केटी बेचबिखनको नयाँ गन्तव्य चीन

पूर्ण बस्नेत, हङकङ, माघ ११- चीन स्वशासित तिब्बत र मकाउ नेपाली महिला बेचबिखनको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बताएकी छिन्। तिब्बतको खासा क्षेत्रमा 'रेडलाइट एरिया' विस्तार भइरहेको र सीमा जोडिएका जिल्ला सिन्धुपाल्चोक, रसुवा र दोलखाबाट त्यहाँ कम उमेरका केटी पुर्‍याइने गरिएको उनले बताइन्। कोइरालाले नियन्त्रणका लागि तत्काल कदम नचालिए यो समस्याले विकराल रुप लिनसक्ने चेतावनी पनि दिइन।
“हामीले खासा क्षेत्रका तीन जना केटी उद्दार गरी पुनर्स्थापना गर्‍यौँ, उनीहरूले तिब्बततिर लगेर डान्स बार र क्याविन रेष्टुरेण्टमा जबर्जस्ती बेश्यावृत्ति गराएको बताए”, तिब्बत सीमामा नाकाहरू खुलेसँगै बेचबिखनको समस्या बढ्न थालेको चर्चा गर्दै कोइरालाले भनिन्- रसुवाको नाकाबाट पनि दुई जना केटी तिब्बत पुर्‍याई जबर्जस्ती बेश्यावृत्तिमा लगाएर केही महिनापछि फिर्ता गरिएको घटना सार्वजनिक भयो।

तिब्बततिर केटी बेचबिखन हुने क्रम बढेपछि त्यस क्षेत्रका बासिन्दाको मागअनुसार माइती नेपालले पहिलो पटक उत्तरी सीमामा आफ्नो चेकपोष्ट स्थापना गर्न लागेको अध्यक्ष कोइरालाले बताइन्। उनका अनुसार खासास्थित तातोपानी भन्सार नजिकै स्थापना गरिने चेकपोष्ट उत्तरी सिमामा माइती नेपालको पहिलो औपचारिक युनिट हुनेछ। माइती नेपालले भारततिर हुने महिला बेचबिखन रोक्न दक्षिणको सीमा क्षेत्रमा दश वटा चेकपोष्ट राखेर काम गरिरहेको छ।

नेपाली र चिनियाँ दलालहरूको मिलेमतोमा तिब्बतका 'रेडलाइट एरिया' र त्यहाँबाट पूर्वी एसियातिर कलिला नेपाली केटीहरू ल्याइएको हुनसक्ने अनुमानमा अध्ययन भइरहेको कोइरालाले जनाइन्। “हामीले विस्तृत अध्ययन गरिसकेका छैनौँ तर हाम्रा नानीहरूलाई लगेर जबर्जस्ती बेश्यावृत्तिमा लगाउने क्रम बढेको विश्वसनीय सूचनाहरू आएपछि चेकपोष्ट नै स्थापना गर्न लागेका हौँ”, हङकङको पिकमा कडा कफी पिउँदै कोइराला नागरिकसँग गम्भीररुपमा प्रस्तुत भइन- हिजो भारतसँग मात्र समस्या थियो, अब उत्तरको छिमेकी चीन बेचबिखनको नयाँ गन्तव्यको रुपमा देखिन थाल्यो। यसलाई भारतको जत्तिकै खतरनाक समस्याका रुपमा विस्तार हुन नदिन तत्कालै कदम चाल्नुपर्छ।

महिला बेचबिखन रोक्न माइती नेपालमार्फत् योगदान गरेबापत् 'सिएनएन हिरो' अवार्डबाट सम्मानित कोइरालालाई शनिबार हङकङ नेपाली महासङ्घले अभिनन्दन गर्‍यो। अभिनन्दन समारोहमा आफूले हङकङ, मकाउ र सिङ्गापुरमा नेपाली महिला बेचबिखनबारे चर्चा गरेको बताउँदै कोइरालाले सामाजिक अप्ठेरोले गर्दा कतिपय यस्ता समस्या बाहिर नआएको बताइन्। भिसा नलाग्ने अवस्थाको फाइदा उठाउँदै केही महिनाअघि काम लगाइदिने बहानामा सिङ्गापुरमा पुर्‍याइएका नेपाली केटीलाई आफ्नो संस्थाले उद्धार गरेको सम्झिँदै कोइरालाले पहिला भिसा सहज हुँदा हङकङमा पनि यस्तै समस्या रहेको बताइन्।

“भिसा फ्रि हुँदासम्म हङकङमा पनि नेपाली केटी ल्याएर बेश्यावृत्ति गराएर फर्काउने गरिन्थ्यो, जुन अहिले सिङ्गापुरमा भइरहेको छ”, कोइरालाले भनिन्- केटीहरूको कुरा उठाइदिन आउनुपर्‍यो, यहाँ खत्तमै भैसक्यो भनेर भरखरै मकाउबाट फोन आयो, हङकङ लगिदिन्छु भनेर मकाउ पुर्‍याएर केटीहरूको यौन शोषण गरिएको हुनसक्छ।

चीनमा बढिरहेको महिला बेचबिखनसम्बन्धी चाइना डेलीमा सोमबार नै प्रकाशित विशेष रिपोर्ट देखाउँदै कोइरालाले नेपाल सरकारले पनि चीनले जसरी युनिट नै स्थापना गरेर बेचबिखन रोक्न विशेषरुपमा लाग्नुपर्ने सुझाइन्। “चीनका गरीब केटीहरू आन्तरिक र अन्तर्राष्ट्रियरुपमा बेचबिखन भएको रिपोर्टसँगै बेइजिङले त्यसलाई रोक्न पब्लिक सेक्युरिटी अफिसअन्तर्गत ह्युमन ट्राफिकिङ युनिट नै स्थापना गरेको समाचार पढ्दा आनन्द आयो”, बेचबिखनको समस्याबारे चीनसँग विभिन्न फोरममा कुरा उठाउने बताउँदै उनले थपिन- द्विपक्षीय पहलका लागि हामीकहाँ पनि यस्तै प्रभावकारी सरकारी निकाय आवश्यक भइसक्यो।

No comments:

Post a Comment