Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Saturday, January 15, 2011

राजधानीका डाँडासमेत सेताम्मे


अब्दुल्लाह मियाँ

काठमाडौ, माघ ३ - धेरैपछि राजधानी वरिपरिका डाँडा आइतबार हिउँले सेताम्मे बने । वर्षासँगै डाँडाहरूमा बाक्लै हिउँ पर्‍यो भने सहरी क्षेत्रमा पातलो हिउँ फुस्फुसायो । दुई दिनअघि शुक्रबारै जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको थियो- काठमाडौंदेखि पश्चिम, मध्यभाग र हिमाली क्षेत्रका पहाडी भागमा हिउँसँगै वर्षा हुने ।

'राजधानीमा हल्का वर्षा हुने अनुमान गरिए पनि १५ सय मिटर उचाइभन्दा अग्ला डाँडामा बाक्लै हिउँ पर्‍यो, त्योभन्दा उचाइका ठाउँमा पनि हिउँसहितको वर्षा भयो,' महाशाखा प्रमुख एवं उपमहानिर्देशक मणिरत्न शाक्यले भने, 'पश्चिम वायुको प्रवेशसँगै वायुमण्डल तापक्रम शून्य डिग्रिसेल्सियससम्म झरेपछि राजधानीमा समेत हिउँ परेको हो ।'

नागार्जुन, शिवपुरी, ककनी, चिसापानी, नगरकोट, फुल्चोकी, चन्द्रागिरीलगायत डाँडामा हिउँ परेको छ । राजधानीसँगैको मकवानपुरको दामन, सिमभन्ज्याङ, पालुङ र टिस्टुङका साथै त्रिभुवन राजपथमा पनि हिउँ परेको छ । राजधानीवासीहरू ती ठाउँमा हिउँ खेल्न जान थालेका छन् ।

हिउँ परेपछि राजधानीमा चिसो बढेको छ । आइतबार राजधानीको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्रिसेल्सियससम्म झरेको थियो । 'अझै केही दिन चिसो बढ्ने सम्भावना छ,' शाक्यले भने ।

यसअघि सन् २००७ को फेब्रअरी १४ मा पनि राजधानी वरपरका डाँडाका साथै सहरी क्षेत्रमा हिउँ परेको थियो । त्यो राजधानीमा ६२ वर्षपछिको हिउँवषर्ा थियो । कम उचाइका चाबहिल, कपन, थली, डाँछी, मूलपानी, चाँगुनारायण, ललितपुरको लेले, चापागाउँलगायत क्षेत्रमा पनि आइतबार हल्का हिउँ

पर्‍यो । बढी उचाइको वायुमण्डल तापक्रम शून्य डिग्रीमा झरेपछि त्यसको प्रभावले राजधानीका कम उचाइमा पनि हिउँ झरेको वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए । हिउँ वर्षाको केही प्रभाव सोमबारसमेत रहने अनुमान उनले बताए ।

उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित उच्च पहाडी जिल्लाहरूमा बाक्लो हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । संखुवासभा, जुम्ला, मुस्ताङ, हुम्ला, गोरखा, मुगु, लमजुङ, दोलखालगायत जिल्लामा बाक्लो हिउँ परेको हो ।

सोलुखुम्बुको लुक्लामा बिहानैदेखि हिमपात भएको थियो । हिमपातका कारण लुक्लाको हवाई सेवा ठप्प भएको छ । हिमालपारिको जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङमा शनिबार रातिदेखिको भारी हिपमातले जनजीवन कष्टकर बनेको छ । माथिल्लो मनाङको टंकी माङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फुका साथै सदरमुकाम चामेमा पनि बाक्लो हिउँ परेको छ ।

मनाङ सदरमुकाम चामेमा डेढ फिट हिउँ जमेको र जनजीवन कष्टकर बनेको छ । १३ गाविस रहेको मनाङको तल्लो मनाङस्थित धारापानीबाहेक सबै गाविसमा पनि हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदयात्राका लागि निस्केका पर्यटक बीचबाटोमै अलपत्र परेका छन् । मौसममा आएको खराबी र भारी हिमपातका कारण मनाङको एकमात्र पोखरा-मनाङ हवाई सेवा पनि बन्द भएको छ । हिमपातका कारण विद्युत् र टेलिफोनमा पनि समस्या उत्पन्न भएको छ । यसैगरी लमजुङको घनपोखरा, घलेगाउँ भुजुङ, सिउरुङ, ताघ्रिङ, बाँझाखेत लगायतका गाविसमा पनि हिमपात भएको छ । सदरमुकाम बेंसीसहरको वरिपरि रहेको डाँडा बाक्लो हिउँले ढाकेको छ । मकवानपुरको दामन र काभ्रेको भीमदत्त राजमार्गमा पनि साँझसम्म हिमपात भइरहेको छ ।


Posted In kantipur Daily
प्रकाशित मिति: २०६७ माघ ३ ०८:५२

No comments:

Post a Comment