Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Sunday, January 16, 2011

राष्ट्रिय झण्डा नफेर्ने सहमसहमति


माधव ढुङ्गेल, काठमाडौं, माघ ३- एकीकृत माओवादी, कांग्रेस र एमाले संसदीय दलका नेताको आइतबार बसेको अनौपचारिक बैठकले नयाँ संविधानमा राष्ट्रिय झण्डा यथावत राख्ने सहमति गरेको छ। यो सहमतिलाई सोमबार बिहान बस्ने २७ दलको संयन्त्रले औपचारिकता दिएपछि पच्चीस सय बर्ष भन्दा अघिको चन्द्र, सूर्य अंकित रातो झण्डा नै राष्ट्रिय हुनेछ /
विवादित विषयमा सहमति खोज्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बोलाएको प्रमुख तीन दलको अनौपचारिक बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको साविकको अडानब त्यागेर झण्डा नफेर्ने सहमति जनाएका हुन्।

'नयाँ राजनीतिक परिवेशअनुसार व्याख्यात्मक टिप्पणीमा यसको व्याख्या गरौं', झण्डा नफेरी व्याख्या मात्र फेरे पुग्ने सहमति जनाउँदै दाहालले बैठकमा भने। बैठकका एक सहभागीले दिएको जानकारी अनुसार, संविधानको व्याख्यात्मक टिप्पणीमा 'चन्द्रवंशी र सूर्यवंशी राजा' सँग झण्डाको व्याख्या नजोडी चन्द्रसूर्य जस्तै मुलुक र नेपाली जनताको सार्वभौमसत्ता अटल रहोस् भन्ने भावसहितको व्याख्या गरिने छ। राष्ट्रिय झण्डा भने अहिलेकै रूपमा रहनेछ।

सिंहदरबारस्थित नेम्वाङको कार्यकक्षमा भएको बैठकमा माओवादी अध्यक्ष दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देव गुरूङ, कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरे र रमेश लेखक, एमालेका अग्नि खरेल र सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण पनि बैठकमा थिए।

संविधानसभाको संवैधानिक समितिद्वारा गठित प्रारम्भिक मस्यौदा उपसमितिको बैठकमा २०६६ भदौ ३१ गते एकीकृत माओवादीका गुरूङले पहिलोपल्ट झण्डा फेर्ने प्रस्ताव गरेका थिए। चन्द्र-सूर्य अंकित झण्डाले राजतन्त्रको झलक दिने भएकाले उक्त झण्डा फेर्नुपर्ने अडान माओवादीले राख्दै आएको थियो।

माओवादीले बहुजातीय गणतन्त्रात्मक व्यवस्थामा गएपछि पुरानै झण्डा त्यसको प्रतीक बन्न नसक्ने तर्क गर्दै आएको थियो। चन्द्र-सूर्य अंकित झण्डाले हिन्दू धर्मको मात्र प्रतिनिधित्व गर्ने भएकाले धर्म निरपेक्ष राष्ट्रमा सबै धर्म समेट्ने झण्डा बनाउन प्रस्ताव गरेको थियो।

युरोपेली संघको जस्तै सबै प्रदेशलाई समेट्ने झण्डा बनाउन गुरूङले प्रस्ताव गरेका थिए। उनको प्रस्ताव थियो, 'जतिवटा प्रदेश छन्, झण्डामा त्यति नै तारा राखौं।' नेपालको झण्डा संसारमै नमिल्दो आकारको त्रिकोणात्मक भएकोले त्यसलाई फेर्नु राम्रो हुने तर्क उनले पटक पटक दोहोर्‍याएका थिए।

कांग्रेस-एमालेलगायत माओेवादीबाहेक अधिकांश दलले संसारमै नेपाललाई चिनाउने नेपालको 'विशिष्ट' किसिमको झण्डा रहेकोले 'विगतको पाठ्यक्रममा सूर्यवंशी र चन्द्रवंशी राजाको प्रतीक भनेर व्याख्या गरिएकोले त्यसमा मात्र परिवर्तन गरे पुग्ने' तर्क राख्दै आएका थिए।

०६६ पुस १० संवैधानिक समितिमा भएको मतदानमा राष्ट्रिय झण्डा परिवर्तन गरी नयाँ बनाउने भन्ने माओवादीको प्रस्ताव अस्वीकृत भएको थियो। ६३ सदस्यीय समितिमा भएको मतदानमा झण्डा फेर्ने प्रस्तावको पक्षमा २७ मत मात्र परेको थियो। प्रस्ताव पारित नभए पनि यसलाई माओवादीले फरकमतका रूपमा अगाडि बढाएको थियो।

चन्द्र-सूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको इतिहास नेपालको सबैभन्दा पुरानो प्रमाणिक इतिहाससँग जोडिन्छ। लिच्छवि राजा मानदेव (विक्रम संवत् ५२१-५६२) ले चलाएको मुद्रा 'मानाङ्क' मा पनि त्रिकोणात्मक झण्डा लेखिएको प्राध्यापक दयाराम श्रेष्ठले 'नेपालको राष्ट्रिय झण्डा' शीर्षक पुस्तकमा उल्लेख गरेका छन्।

दुई पाताकायुक्त नेपालको झण्डाको इतिहास दुई हजार पाँच सय वर्ष पुरानो रहेको इतिहासकारको भनाइ छ। झण्डाको प्रयोग पहिलेदेखि नै गरिंदै आएको भए पनि 'नेपालको संविधान २०१९' लागू भएपछि मात्र संविधान नेपाली झण्डालाई लिपीबद्ध गरिएको हो।


राष्ट्रको इतिहास, संस्कृति र आकांक्षाको प्रतीकका रूपमा राष्ट्रिय झण्डालाई लिइन्छ। त्यसैले सान्दर्भिक र अर्थयुक्त रंग तथा चिन्ह-विन्यासलाई प्रतीकात्मक रूप दिएर राष्ट्रको अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्न झण्डा बनाइने श्रेष्ठले उल्लेख गरेका छन्।


श्रेष्ठका अनुसार, झण्डाको सर्वप्रथम इशापूर्व ११२२ मा चाउ नामका चिनियाँ सम्राटले प्रयोग गरे पनि पश्चिमा जगतमा सोह्रौं शताब्दीदेखि मात्र प्रयोग हुन थालेको हो।

झण्डाको प्रयोग व्यवस्थित बताउन बहुदलपछि ०४९ बैशाख ८ गते 'राष्ट्रिय झण्डा प्रयोग गर्ने र बनाउने नीति' जारी गरिएको थियो।

Source Nagarik News,2011

SUNDAY, 16 JANUARY 2011 19:30

No comments:

Post a Comment